काठमाडौँ – परराष्ट्र मन्त्रालयमा एक ऐतिहासिक कदम चालेको छ। सहसचिव द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशक नियुक्त गरिएको छ। उनी यो पद सम्हाल्ने पहिलो महिला बनिन्, जुन परराष्ट्र सेवा इतिहासकै एक महत्वपूर्ण उपलब्धि हो।
हालै परराष्ट्र मन्त्रालयले एक दर्जन सहसचिवहरुको सरुवा गरेको छ। सरुवामा परेकामध्ये अधिकांश बढुवा भएर विदेशबाट फर्किएका वा हालै सहसचिव पदको परीक्षा पास गरेका अधिकारीहरु हुन्। सरुवा भएका अधिकारीहरूमा पारस पण्डित, हरि ओडारी, ज्ञानबहादुर मगर, दधी भण्डारी, लक्ष्मण खनाल, सुरेन्द्र यादव, सुरेश अधिकारी र द्रुपदा सापकोटा प्रमुख छन्।
सरुवा सूचिअनुसार हरि ओडारीलाई यूएईको दुवई, पारस पण्डितलाई साउदी अरेबियाको जेद्दा, लक्ष्मण खनाललाई अमेरिकाको सान फ्रान्सिस्कोमा महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। ज्ञानबहादुर मगर न्युयोर्कस्थित नियोगमा, दधी भण्डारी अमेरिकास्थित दूतावासमा पठाइएका छन्।
यसै क्रममा दिल्लीस्थित नेपाली दूतावासमा पोलिटिकल काउन्सिलरको भूमिका निभाइरहेकी द्रुपदा सापकोटालाई राजधानी फर्काएर कन्सुलर विभागको नेतृत्व सुम्पिएको हो।
सापकोटाले यसअघि मलेसिया र अष्ट्रेलियामा कार्यवाहक राजदूतको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। नेपालको कूटनीतिक सेवामा तीन दशकभन्दा लामो अनुभव बोकेकी उनी महिला सहसचिवहरूमध्ये पाकिस्तानमा कार्यरत राजदूत रिता धितालपछि सबैभन्दा वरिष्ठ हुन्।
कन्सुलर विभाग नेपालीहरुको हकहितको सुरक्षा, संकटमा उद्धार, क्षतिपूर्तिका लागि पहल, कन्सुलर प्रमाणीकरणदेखि विदेशी कूटनीतिक नियोगहरूसँगको समन्वयसम्मका काममा सक्रिय रहँदै आएको छ। साथै, नेपालको तर्फबाट विदेश भ्रमणमा जाने पदाधिकारीहरूलाई आवश्यक सिफारिस गर्ने जिम्मेवारी पनि यही विभागले सम्हाल्दछ।
हालै सहसचिवमा बढुवा भएका इला मैनाली, रोजिना ताम्राकार र रोशन खनाल प्रशासन महाशाखामै कार्यरत छन्। छिट्टै उनीहरुको पनि जिम्मेवारी तोकिने मन्त्रालय स्रोतले जनाएको छ। यस्तै, चीनको बेइजिङबाट फिर्ता भएका सुरेन्द्र यादवले मन्त्रालयको प्रशासन विभाग सम्हालेका छन् भने राजदूतको दावेदारीमा रहेका कौशलकिशोर यादव पनि चाँडै नेपाल फर्कने तयारीमा छन्।
द्रुपदा सापकोटाको नेतृत्वमा कन्सुलर विभागले अझ प्रभावकारी ढंगले प्रवासी नेपालीको हकहितको संरक्षण गर्ने विश्वास लिइएको छ। उनको अनुभव, क्षमता र दूरदृष्टिले विभागको काम कारबाहीमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।