Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै

पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै

जुम्ला । पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ ।

सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् ।  ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् । जिल्लाको सिञ्जा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौकीमा गरिएको शिविरमा २६ पुरुष, तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकीमा १७ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सौमैले जानकारी दिए ।

यस्तै, पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा भएको शिविरमा १५ पुरुष र १५ महिला,  जनाले सेवा लिएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको हाटसिँजा स्वास्थ्य चौकीमा भएको शिविरमा १३ पुरुष, एक महिला, गुठीचौरको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा १० पुरुष र चार महिलाले सेवा लिएको सूचना अधिकारी सौमैले बताए।

यस्तै, तातोपानी गाउँपालिकाको ताम्तीलामा बजारमा भएको शिविरमा  आठ पुरुष, २६ महिला, हिमाको बड्की स्वास्थ्य चौकीमा भएको शिविरमा चार पुरुषले स्थायी बन्ध्याकरण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यही चैत ७ देखि १९ गतेसम्म जिल्लाका स्थानीय तहमा पुगेर परिवार नियोजन शिविर सञ्चालन गरिएका थिए ।

दक्ष चिकित्सकहरूद्वारा पुरुषका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि अस्थायी इम्प्लान्ट सेवा प्रदान गरिएको थियो ।

चन्दननाथ नगरपालिकामा नियमित रूपमा बन्ध्याकरण सेवा सञ्चालन भइरहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।