Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नौ महिना नपुग्दै जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिए

नौ महिना नपुग्दै जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक यहाँ भित्रिएका हुन् । यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

त्यसैगरी, विदेशीतर्फ साउनमा तीन हजार ५४, भदौमा छ हजार ३४७, असोजमा १२ हजार ५३८, कात्तिकमा १४ हजार १२४, मङ्सिरमा सात हजार ४६४, पुसमा छ हजार ८३५, माघमा तीन हजार ४५६, फागुनमा नौ हजार २३८ र चैत १८ गतेसम्ममा १३ हजार ४०५ जनाले जिल्लाको भ्रमण गरेका छन् ।

जिल्लामा चालु वर्षको साउनदेखि हालसम्म नेपाली आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले भ्रमण गरेका प्रहरी निरीक्षक विशाल अधिकारीको भनाइ छ । उनका अनुसार मुस्ताङ भित्रिने पर्यटक सङ्ख्यामध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०८०/८१ मा नेपाली आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ जनाले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्क छ ।

पछिल्लो समय सडक सञ्जाल क्रमिक रूपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न नेपाली आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । मुस्ताङ भित्रिएका नेपाली पर्यटक मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँगै सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् ।

मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक प्रकारको भूगालको आकर्षणले यहाँ पर्यटक सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो । राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरूङले बताए ।

मुस्ताङमा अवस्थित सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र यहाँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा र गुफाका कारण जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको छ । उपल्लो मुस्ताङमा सात सय वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बा पर्यटकका लागि विभिन्न खोजअनुसन्धानको केन्द्र बनेको छ । मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन जीवनशैली र स्थानीय चाडपर्वको मौलिकता अवलोकन गर्न बर्सेनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।