Shares
Shares
धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ ।
त्यस्तै, षष्ठीका दिन अर्थात् साँझ गहुँ, चामल, ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न पलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।
षष्ठीका साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । यस्तै छठपर्व को चौथो दिन अर्थात् आज बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गरेका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209