Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अख्तियारले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन

अख्तियारले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सात जना विरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखा अधिकृत रामप्रसाद बजगाईँ, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा समेतका प्रतिवादी विरुद्ध रु ४७ लाख ३७ हजार छ सय २९ बराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–५ जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो बमोजिम जरिवानासमेत माग गरी मुद्दा दायर गरिएको थियो ।

आयोगले दायर गरेको मुद्दामा विशेषले गत २०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।