Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला र शिशुको कुपोषणमा काम गर्न अमेरिकी परोपकारी संस्थासँग प्रस्ताव

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला र शिशुको कुपोषणमा काम गर्न अमेरिकी परोपकारी संस्थासँग प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहेका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै उक्त आग्रह गरेका हुन् ।

यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ ।

‘आर्थिक अभावमा मातृशिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले स्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौँ,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौँ ।’

केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताए । उनले भने, ‘नेपालको मातृशिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ ।’  नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत सकारात्मक प्रतिक्रिया संस्थाले दिएको छ । नेपालमा कुपोषणका कारण हुने मातृशिशु मृत्युदर कम गर्न गर्भवतीलाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डा लालले बताए ।