Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणले गति लियो,रावणको मूर्ति राख्न नहुने तर्क

म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणले गति लियो,रावणको मूर्ति राख्न नहुने तर्क

म्याग्दी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

‘पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्’, उनले भने, ‘जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।’

ठेकेदारले १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताए । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।