काठमाडौँ । अन्तत नेपाली सेनाले मुख खोलेको छ । पछिल्लो समयमा नेपाली सेनाबारे राजावादीहरूले गरिरहेको अनेक टीकाटिप्पणीबारे सेनाले मुख खोलेको हो । केही समय देखि राजावादी दल,व्यक्ति तथा संगठनहरुले अनेक भ्रम छरिरहेका थिए । तर अन्तत सेनाले मुख खालेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक अनुरोध वक्तव्य जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ’, सेनाले विज्ञप्तिमा भनेको छ । यस्तै विज्ञप्तिमा विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएको विषय पनि सेनाले उल्लेख गरेको छ। ‘...नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले भनेको छ ।
यसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गरेको छ । पछिल्लो समय विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली सेनालाई लिएर विभिन्न किसिमका बयानबाजी दिइरहेका छन् । उनले राजसंस्था फर्काउने अभियानमा सहयोग गर्न सेनालाई आग्रह गरिरहेका छन् । मिश्रले नेपाली सेना र प्रहरीलाई राजतन्त्र पुनःस्थापनामा सघाउन निरन्तर उक्साइरहेका छन् । सँगसँगै, राजतन्त्र अन्त्य हुनुमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापा र रुक्माङ्गत कटुवाललाई पनि दोष दिइरहेका छन् । २०६२÷०६३ को जनआन्दोलनका बेला थापा र संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा हुँदा कटुवाल प्रधानसेनापति थिए । राजतन्त्र पुनःस्थापना र हिन्दु राज्य घोषणाका लागि भन्दै राप्रपाले देशका मुख्य शहरहरूमा प्रदर्शन गरिरहेको छ । ती प्रदर्शनका क्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले राजतन्त्र पुनःस्थापनाका लागि सेना र प्रहरीले सघाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
पार्टीको पोखरा प्रदर्शनका क्रममा उनले नेपाली सेनाका दुई प्रधान सेनापतिले समयमा र परिआएको बेलामा आफ्नो परमाधिपतिको रक्षा गर्न नसकेको आरोप लगाए ।१४ फागुनमा नेपाली सेना दिवसमा शुभकामना दिँदा पनि राजतन्त्र अन्त्यको दोष नेपाली सेनालाई दिएका छन् । मिश्रले राजसंस्था हटाउनु नेपालको दीर्घकालीन हितमा हुँदैन भनेर त्यतिबेला सरकारलाई स्पष्ट सुझाव नदिनु सेनाको ठूलो भुल रहेको र त्यसैको परिणाम अहिले भोग्नुपरेको बताएका छन् । राजतन्त्र अन्त्यका बेला अन्तिम राजा ज्ञानेन्द्र शाहलाई नसघाएकोमा पूर्वसेनापतिप्रति गुनासो गरिरहेका राप्रपा नेता मिश्रले गणतान्त्रिक संक्रमण नेपाली सेनाका कारण शान्तिपूर्ण भएको भने स्वीकारेका छन् । त्यसैले उनको अभिव्यक्तिमा विरोधाभाष देखिन्छ । राष्ट्रिय सेनासँगै प्रहरीलाई समेत राजतन्त्र पुनःस्थापनामा सघाउनसमेत मिश्रले आग्रह गरेका छन् ।