काठमाडौँ । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृह सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च खारेज गरेको छ ।
पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले खारेज गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट पनि सर्वोच्चले खारेज गरेको छ । न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा दुबै जनालाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले गत असार १ मा उनीहरुसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।