काठमाडौँ । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । संविधानकै धारा ५१ मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकार, सुरक्षित हुने अधिकार, गलत व्यापारिक क्रियाकलापविरुद्ध कारबाही गराउन पाउने अधिकार, हानिविरुद्ध क्षतिपूर्ति पाउने तथा सुनुवाइ हुने अधिकारको प्रत्याभूति गरिएको छ ।
संविधान र कानुनमा स्पष्ट व्यवस्था भए पनि कार्यान्वयनमा समस्या छ । उपभोक्ताहरु अस्पताल, शिक्षण संस्था, सञ्चार, यातायत, विद्युत खानेपानी, बैंक तथा वित्तीय संस्था, खाद्यान्नलगायतमा वस्तु वा सेवा लिने क्रममा ठगिने गरेका छन् ।
बजारमा बिक्रीमा राखिएका हरेक वस्तु वा सेवामा अनिवार्य गुणस्तरको मानक तोकिनुपर्ने, लेबल नभएका वस्तु बजारमा बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था छ ।