Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्कुटर चोरीमा संलग्न एकजना, ट्राफिक प्रहरीको नियन्त्रणमा

स्कुटर चोरीमा संलग्न एकजना, ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ माछापुछ्रेचोकबाट सोमबार स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ हाल काठमाडौंको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुछ्रेचोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो ।

उक्त स्कुटर काठमाडौंको टोखा नगरपालिका ५ शिव मन्दिरबाट हराएको भनि सिता पाण्डे भुसालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् । नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिनुभयो ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।