काठमाण्डौ । सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ को नकारात्मक सूची ग्रे लिस्टमा नेपाल परेको छ । विभिन्न पक्षहरुमा सुधार गर्न नसकेपछि नेपाल नकारात्मक सूचीमा परेको हो । फ्रान्सको पेरिसमा हिजो सकिएको एफएटीएफको दोस्रो महासभाले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको हो ।
महासभामा एफएटीएफकी अध्यक्ष एलिसा डे अन्डा मद्राजोले नेपाललाई आउँदो दुई वर्षका लागि ‘ग्रे लिस्ट’ मा राखिएको जानकारी दिनुभयो । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधमा लगानी रोक्न संसारभरका देशहरुले स्थापना गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका देशलाई ब्ल्याक लिस्ट र ‘ग्रे लिस्ट’ मा राख्दै आएको छ ।
यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची ९ग्रे लिस्ट०मा परेको थियो । सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट बाहिरिएको थियो । नेपालसँगै लाओस पनि ‘ग्रे लिस्ट’सूचीमा परेको छ भने फिलिपिन्स दुई वर्षपछि यस्तो सूचीबाट बाहिरिएको छ ।
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरू बताउँछन् । ‘ग्रे लिष्ट’मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ ।