काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी मा शंकास्पद रूपमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार भैरहवाको स्वर्गद्वारी घाटमा गरिएको छ । उनको पार्थिव शरीर गोरखपुर हुँदै राति ९ बजे भैरहवा पुर्याइएको थियो । तर, उनका अभिभावक अर्को उडानबाट ढिलो गरी आउनु पर्ने भएपछि शवलाई युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।
राति ११ बजे शवलाई उनको निवास सिद्धार्थनगर ८ पुर्याइएपछि उनको पार्थिव शरिरमा परिवारजन, आफन्त, छिमेकी तथा शुभचिन्तकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि राति नै शवयात्रा निकालेर स्वर्गद्वारी घाटमा उनको अन्त्येष्टि गरिएको हो ।
प्रकृतिलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । प्रकृतिको अन्त्येष्टिमा स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका साथीहरू समेत श्रद्धाञ्जली दिन भैरहवा आएका थिए ।