काठमाडौँ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ मा सामुहिक बलात्कारमा परेकी पीडित किशोरीले पञ्चायतबाट न्यायको साटो धम्की पाएपछि आत्महत्या गरेकी छन् । भखरै १७ पुगेकी रिंकु कुमारी सदाय सामुहिक बलात्कारमा परेकी थिइन । पिडित बनेकी उनलाई न्याय दिने पञ्चायतबाटै धम्की आएपछि उनी आत्महत्या गर्न बाध्य भएको बुझन कठिन छैन । गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो ।
शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई बाँसघारीमा लगेर जबरजस्ती गरेको बताएको रिंकुकी आमाले बताएकी छन । दलित समुदायकी रिंकु फागुन ३० आफनो ‘भुँई घर’ मा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।
उनको सब सलले घाँटीमा पासो लगाएको अवस्थामा फेला परेको बताइएको छ । सुन्दा पनि निकै मुटु छेड्ने यो घटनाले यतिबेला सबैको ध्यान तानेको छ । रिंकुको मृत्यु भएको करिब एक साता पुग्न लाग्दा घटना रहस्यमय र विवादित बन्न पुगेको छ । उनको मृत्युअघि भएका घटना÷परिघटनाले रिंकुको मृत्यु स्वभाविक नरहेको देखाएको छ । रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको छ ।
मधेसमा कुनै पनि घटनाको प्रारम्भिक न्यायका लागि गाउँका भद्र भलाद्मीका नाममा ‘पञ्चायती’ राखेर छलफल गराउने प्रचलन रहेको छ । यहि क्रममा भगवतीपुर तामासुइयाकी किशोरीले न्याय माग गर्दा कानुनी प्रक्रियामा जाने वा न्याय दिने भन्दा पनि पीडकलाई कारबाहीको साटो एक लाख ४० हजार रुपियाँ दिएर घटना सामसुम पार्न पञ्चहरुले निर्णय गरेका थिए । किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए। पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएकै भोलीपल्ट आत्महत्या गरेको आमाले बताएकी छन ।
परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले १९ वर्षीय स्थानीय रुपेश मण्डलविरुद्ध रिंकुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएको बताए । यो घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । आरोपित फरार छन् भने अन्यको हकमा जाहेरी नै नआएको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छैन । पोस्टमार्टमका लागि रिंकुको शव धरान पठाइएको त्यसको रिपोर्ट आउन बाँकी नै छ । उक्त रिपोर्टमा बलात्कार रहेको खुलेमा सोही अनुसार अनुसन्धान अघि बढाउने दाबी प्रहरीको छ ।