Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको होस्टेलमा रहस्यमय मृत्यु भएकी प्रकृतिको बिषयमा आवाज उठाउँदा नेपाली विद्यार्थी लाई कलेजले कुटिकुटि निकाल्यो

भारतको होस्टेलमा रहस्यमय मृत्यु भएकी प्रकृतिको बिषयमा आवाज उठाउँदा नेपाली विद्यार्थी लाई कलेजले कुटिकुटि निकाल्यो

काठमाडौँ । भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको रहस्यमय मृत्यु भएको छ । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी हुन् । छात्रावासमा बस्दै आएकी उनी आइतबार मृत अवस्थामा फेला परेकी थिइन् । उनी बिटेक तेस्रो वर्षमा अध्ययन रहेको र उनको शंकास्पद मृत्युपछि विद्यार्थीले विश्वविद्यालय क्याम्पस परिसरमा न्यायका लागि आन्दोलन गरिरहेको उडिसाको सञ्चारमाध्यम संवादले समाचार प्रकाशन गरेको छ । उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’ कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ । तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ । यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।

‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुव्र्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुव्र्यवहार र सहन नसकिने दुःखहरुबारे ।’ तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ । भारत ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत भेटिएपछि सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिइएको छ । अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुव्र्यवहार गर्दै निकालिएको छ। करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको छ । नेपाली बिद्यार्थीमाथि दुव्र्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारबारे भारतस्थित नेपाली दूताबासलाई समेत जानकारी गराएको तर दूताबासबाट कुनै सहयोग नभएको विद्याथीको आरोप छ । यस्तै नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न दूतावासको अनुरोध गदैँ नेपाली विद्यार्थी निकाल्ने निर्णय फिर्ता लिन विश्वविद्यालयलाई आग्रह दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय विदेश मन्त्रालयसँग र विश्वविद्यालयका अधिकारीसँग आज सोमबार नेपाली विद्यार्थीको सुरक्षाबारे चासो राखेको हो ।