काठमाडौँ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्यांकनको आधारमा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कालिगण्डकीले ७८.२ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेको हो । आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा निकालिएको हो ।
गण्डकीका १४ वटा पालिकाले ७० अंक पार गरेका छन् । स्याङ्जाकै आँधिखोला गाउँपालिकाले ७८ अंक पाएको छ भने फेदीखोलाले ७७.९ अंक प्राप्त गरेको छ । लमजुङको बेंसीशहर नगरपालिकाले ७४.७, स्याङ्जाको विरुवा गाउँपालिकाले ७४।३, वालिङ नगरपालिकाले ७३.७, पर्वतको महाशिला गाउँपालिकाले ७३.६, नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले ७३।२ अंक पाएको छ ।
हिमाली जिल्लाहरुमा मनाङको नार्पाभूमि गाउँपालिका सबैभन्दा उत्कृष्ट बनेको छ । नार्पाभूमिले समग्रमा ७३ अंक पाएको हो । यता स्याङ्जाकै पुतलीबजारले ७१।५, नवलपुरको देवचुली नगरपालिकाले ७१.४, तनहुँको भानु नगरपालिकाले पनि ७१।४ अंक पाएको छ भने नवलपुरको गैँडाकोटले ७०।९ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ७०।८ नम्बर ल्याएको छ । गण्डकी प्रदेशमा म्याग्दीको धवलागिरि गाउँपालिकाले सबैभन्दा कम ४०।९ अंक पाएको छ ।
कार्यसम्पादन मूल्यांकनमा महानगरपालिका तर्फ भरतपुरले सर्वाधिक ७६.२ अंक पाएको छ । पोखरा महानगरपालिकाले भने जम्मा ५१।५ अंक प्राप्त गर्दै महानगरको सूचीमा दोस्रो कमजोर पालिका बनेको छ । पोखराभन्दा पछाडि वीरगन्ज महानगरको अंक ४३।१ छ । विराटनगरले ७३।५, ललितपुरले ६६।७ र काठमाडौँ महानगरले ५४।३ अंक पाएको आयोगको रिपोर्टमा उल्लेख छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा भने पोखरा महानगरपालिका र ललितपुर महानगरपालिकाले सर्वाधिक अंक ल्याएर पहिलो बनेका छन् । दुबै पालिकाले ९३।५ प्रतिशत प्राप्त गरेका हुन् । यस्तै, विराटनगरले ८९।७५, भरतपुरले ८९।५, काठमाडौँले ८२।७५ र वीरगन्जले सबैभन्दा कम ६८।५ प्रतिशत पाएको छ ।
प्रदेशहरूको कार्यसम्पादन सूचीमा पनि गण्डकीको कमजोर उपस्थिति देखिएको छ । सर्वाधिक अंक ल्याएको सुदूरपश्चिमले ५१।६ पाउँदा चौथो नम्बरमा रहेको गण्डकीले ४०।८ अंक पायो । सबैभन्दा कमजोर मधेस प्रदेशले ३० अंक मात्रै पाएको छ ।