काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने बिरुद्ध वहस गर्न चितवनमा ३ जिल्लाका सरकारी वकिल बोलाइएको छ । यतिबेला चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । आज विहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीलाई झिकाइएको हो । चितवनमा रहेको साहारा सहकारी रकम अपचलनको आरोप उनी माथि रहेको छ ।
उनीहरूको बहस सकिएपछि रवि पक्षको बहस सुरु हुने जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन । यस्तै लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र अधिवक्ताहरु केदारराज पन्त, दिपकराज तिमिल्सिना, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको बताइएको छ ।
बुधबार थुनछेक बहस नसकिएपछि हिरासतमा पठाइएका रवि लामिछानेलाई १० बजे नै प्रहरीले अदालतमा उपस्थित गराइसकेको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा हिज बुधबार बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो तर हिज थुनछेक बहस सकिएको थिएन । रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च अदालत सरकारी वकिलको कार्यालय बुटवलका रवि न्यौपानेलाई मंगलबारमात्रै चितवनको न्यायाधिवक्ता बनाएर पठाइएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार सुरु भएको थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए ।
सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको हो । आज थुनछेक बहस सकिएपछि साधारण तारेखमा छाड्ने, धरौटी तोकेर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश न्यायाधीशले गर्नेछन् । चितवनपछि पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुने क्रममा छ । चितवनको सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको र गोर्खा मिडियाका चारजना सञ्चालकलाई बराबर हुने गरी १० करोड ८० लाखको बिगो कायम गरिएको छ । जसअनुसार लामिछानेविरुद्ध दुई करोड ७० लाखबराबरको बिगो दाबी गरिएको छ । सम्भवतः आज फैसला आउने अदालत स्रोत बताएको छ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।