काठमाडौँ, १८ माघ — काठमाडौँको छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल काठमाडौँको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङ रहेका छन्।
बागमती प्रदेश ०२–०२७ प ८३३४ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३–०३३ प ३५५३ राखी काठमाडौँको चाबहिलमा विजयले चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल चलान सिंहबाट विजयले लिएको खुलेपछि ट्राफिक प्रहरीले बौद्धबाट चलान सिंहलाई समेत पक्राउ गरेको थियो।
मोटरसाइकल अर्घाखाँचीका आदर्श बेल्बासेले हराएको भन्दै काठमाडौँ महानगरपालिका–३२, पञ्चमुखीबाट गुमेको निवेदन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिएका थिए। अनुसन्धानपछि फेला परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो।
यसैबीच, प्रहरीले सवारी चोरी नियन्त्रण तथा हराएका साधनको खोजतलास कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। वरिष्ठ उपरीक्षक घिमिरेले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरनहरू जडान गर्न सुझाव दिएका छन्। साथै, मानिसहरूको आवतजावत कम हुने एकान्त स्थानमा सवारी साधन नछोड्नसमेत आग्रह गरिएको छ।