काठमाडौँ । कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री समेत रहेका रबि लामिछाने सहित ४२ जनाविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित लाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो । रबि लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ । यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि सोमबार जिल्ला अदालत भैरहवा आउने भएका छन् । उनको तर्फबाट कानून व्यवसायी संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले लामिछाने भोलि रुपन्देही आउने बताईएको छ । बहसका निम्ति कानून व्यवसायी पनि साथमा लिएर रवि भैरहवा आउन लागेका हुन् ।
यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो । लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए ।
त्यस लगतै लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर थुनछेक बहस सकिएको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन् । त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याएका छन् ।