काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिम क्षेत्रमा भित्रिएको छ । आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।