काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफू विरुद्धको मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका थिए । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसका क्रममा उनले सो कुरा बताएका हुन् । उनले आफ्नो लोकप्रियताको आधारमा गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर दिइएको र त्यसको प्रक्रिया पूरा गर्नका लागि मात्र आफूले कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर हस्ताक्षर गरेको दाबी गरेका थिए । आज रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए ।
उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए । दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए । यतिबेला काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन्। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । । लामिछानेका पुर्व साझेदार तथा सहकारी ठगी प्रकरणका मुख्य नाईके जिवी राई हालसम्म फरार छन् । लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा होहल्लाका साथ नाराबाजी गरेका थिए । यता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ ।
बुधबार रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवालाका तर्फबाट जवाफी बहस गरेर बाहिरिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यर्ताहरूले त्रिपाठीमाथि आक्रमण गरेका हुन् । थुनछेक बहस सकाएर निस्किने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकले त्रिपाठीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेर जोगाएको थियो ।