Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलायतको संसदमा डा.शेखर कोइरालाको मन्तव्य:नेपाल बेलायत सम्बन्धलाई थप प्रगाढ बनाउन आह्वान

बेलायतको संसदमा डा.शेखर कोइरालाको मन्तव्य:नेपाल बेलायत सम्बन्धलाई थप प्रगाढ बनाउन आह्वान

लण्डन,नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बेलायतको संसद भवन वेस्टमिन्स्टर मा आयोजित कार्यक्रममा नेपाल(बेलायत सम्बन्धको ऐतिहासिक महत्व र भविष्यका अपेक्षाबारे मन्तव्य व्यक्त गर्नुभएको छ। कार्यक्रममा बेलायती सांसदहरू, उच्च अधिकारीहरू, र नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

डा.कोइरालाले दुई शताब्दीभन्दा लामो नेपाल(बेलायत सम्बन्धलाई “विश्वास, सम्मान, र पारस्परिक हितमा आधारित ऐतिहासिक मित्रता” को रूपमा चित्रण गर्दै भविष्यमा थप सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

ऐतिहासिक सम्बन्धको चर्चा

उहाँले गोर्खा सैनिकहरूको योगदानलाई नेपाल(बेलायत सम्बन्धको केन्द्रबिन्दुका रूपमा उल्लेख गर्दै, दुई विश्वयुद्धमा झण्डै दुई लाख गोर्खा सैनिकहरूले बेलायतको पक्षबाट युद्ध लडेको र कैयन् सैनिकहरूले ज्यान गुमाएको विषय स्मरण गर्नुभयो। उहाँले बेलायतले गोर्खा सैनिकहरूको बलिदानप्रति गरेको सम्मानप्रति आभार व्यक्त गर्दै अझै बाँकी रहेका मुद्दा समाधान गर्न आग्रह गर्नुभयो।

सन् १९२३ मा भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिनमा बेलायतको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले बेलायतप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

सहयोग र लगानीको आह्वान

नेपालको जलविद्युत्, पर्यटन, कृषि, र वनजन्य उद्योगहरूमा अपार सम्भावना रहेको औंल्याउँदै उहाँले बेलायती लगानीकर्ताहरूलाई यी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। नेपालमा वैदेशिक लगानी मैत्री वातावरण तयार भएको उल्लेख गर्दै उहाँले स्वच्छ ऊर्जा, प्रविधि, र पर्यटन क्षेत्रमा साझेदारीको आवश्यकता जोड दिनुभयो।

उहाँले नेपाल(बेलायत व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न र बेलायतमा नेपाली उत्पादनहरूको पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाली डायस्पोराको प्रशंसा

बेलायतमा बसोबास गर्ने नेपाली समुदायले यहाँको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै डा.कोइरालाले चिकित्सक, इन्जिनियर, वकिल, र अन्य पेशामा संलग्न नेपालीहरूको भूमिकालाई विशेष सम्मान दिनुभयो।

लोकतन्त्र र मानव अधिकारप्रति प्रतिबद्धता

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नका लागि वेलायतको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदै सुशासनमार्फत समृद्ध नेपाल निर्माण गर्ने नेपाली जनताको आकांक्षाप्रति बेलायतको साथ आवश्यक रहेको उहाँले बताउनुभयो।

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणको आग्रह

नेपाल र बेलायतबीचको दुई शताब्दी लामो सम्बन्धका बावजुद कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको विषयमा उहाँले खेद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्तिम सन्देश

डा.कोइरालाले नेपाल र बेलायतबीचको साझा मूल्य र मान्यताले सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै, “नेपाल(बेलायत मैत्री अमर रहोस्” भनी मन्तव्यको अन्त्य गर्नुभयो।