काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग आग्रह गरेका छन् । आज इजलासमा न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए । कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ ।
सो क्रममा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’’अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ’, उनले भनेका छन् ।
लामिछानेले धेरै बेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका थिए। जबाफमा लामिछानेले भने, ‘म पीडित भएकोले धेरै समय बोल्न परेको हो श्रीमान्।’सरकारी वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश राईले प्रतिवादीहरूलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसपछि लामिछाने बोलेका थिए।लामिछानेले सूर्य थापा सभापति रहेको संसदीय छानबिन समितिले पनि सहकारीको पैसा गोर्खा मिडियामा लैजान आफ्नो संलग्नता नदेखाएको लामिछानेको भनाइ थियो। जिल्ला अदालत कास्कीले आजै लामिछानेबारे थुनछेक आदेश दिने तयारी गरेको छ। लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।
बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो । आदेशको मिति नजिकिएसँगै बुधबारबाटै पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज पनि सुरक्षा व्यवस्थालाई कडा पारिने र सरकारी कामका लागि हो भने कागजात देखाएरमात्रै प्रवेश दिइने प्रशासनले जनाएको छ । देशकै न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी रहेको छ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए ।