काठमाडौँ । लगातार हुस्सु र कुहिरो लागेपछि तराई र मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ ।
मधेशमा हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बाक्लो हुस्सु लागेपछि महानगरले आजदेखि पर्सिसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले बताउनुभयो ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गएको पुस २१ गते सार्वजनिक सूचना निकालेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।