काठमाडौँ । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि, र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले तमु समुदायको प्राचीन पात्रो अनुसार ऋतु परिवर्तन (पुष १५) का आधारमा मनाइने नयाँ वर्षले सांस्कृतिक र परम्परागत महत्त्व बोकेको बताउनुभएको छ । १२ वटा जीवजन्तुहरूको आधारमा १२ वर्षीय चक्र अनुसार गणना गरिने यो वर्ष “सप्रिल्हो” (सर्प वर्ग) परेको उल्लेख गर्दै प्रचण्डले तमु समुदायको मौलिकता, परम्परा, र सांस्कृतिक पहिचानलाई यस पर्वले झल्काउने बताउनुभयो ।
शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक देशको विविधता राष्ट्रिय सम्पत्ति मात्र नभई विश्वका लागि अमूल्य निधि भएको बताउनुभयो। उहाँले सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन, र विकास राज्यको महत्वपूर्ण दायित्व भएको स्मरण गराउनुभयो ।
समावेशी संघीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका लागि सबैको साझेदारीमा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तमु ल्होसार जस्ता पर्वहरूले नेपालीबीच भाइचारा, हार्दिकता, र सहिष्णुता बढाउने विश्वास व्यक्त गर्नुभयो। सन्देशको अन्त्यमा, अध्यक्ष प्रचण्डले तमु ल्होसारले तमु समुदायलगायत सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता र मौलिक संस्कृतिको जगेर्ना गर्न ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।