काठमाडौँ । शुक्रवार र शनिवार देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।
पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।