काठमाडौँ । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् । मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेकाबताईएको छ ।
बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए । उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए । खाना खाएर सँगै सुतेका उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविण मध्ये मिलन फरार छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । घटनास्थलमा मुचुल्काको काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो ।
मृत फेला परेकाहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ । पछिल्लो समय हत्याका श्रृङखला बढ्न थालेका छन् । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । अहिले असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, समाजिक बनावट , अविश्वास, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि यस्ता घटना बढेका छन् ।
पछिल्लो समय हत्या हिंंसाका घटनामा समेटत बृद्धि भएको छ। मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति पनि बडी छ । पछिल्लो समय जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना महिनापिच्छे हुने गरेको छ । माािनहरुको उत्तेजक प्रबृतिका कारण मानवियता क्रमश हराउँदै गएको अवस्था छ । आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षालगायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएका छन ्। समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने धेरैको धारणा छ । नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको छ ।