काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी चयन अलपत्र परेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि गठित सिफारिस समिति पदाधिकारीहरू चयन गर्न असफल भएको हो ।
समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीहरू नियुक्तिका लागि पुनः प्रक्रिया शुरु गर्न सरकारलाई आग्रह गरेको हो । सोमबार बसेको समितिको बैठकमा मत बाझिएको र समय सकिएपछि दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिस सम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न मन्त्रिपरिषद्लाई आग्रह गरिएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो । शान्ति प्रक्रियाका कामहरू टुंगोमा नपुग्नुको पछाडि रहेका अन्तर्निहित कारणहरूको समीक्षा तथा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आयोगका पदाधिकारीहरूको चयन गर्दा शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ भन्नेमा समितिले विश्वास गरेको छ ।