काठमाडौँ । आज उधौली पर्व सँगै धान्य पूर्णिमा,योमरी पुन्हि, ज्यापु दिवस एकसाथ मनाइदै छ । आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका स्वरुप उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला अर्थात भूमिलाई धन्यवाद दिने गरिन्छ ।
यस्तै धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सि महिनामा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा रहको छ ।
यस्तै नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व मनाउने गर्दछन । नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने योमरी पुन्हिलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । आज ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापु संस्कृतिको रक्षार्थ वि.सं.२०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’भनेको काम र ‘पू’ भनेको बिउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको परम्परा नै ज्यापू संस्कृति हो ।