काठमाडौँ । सन् २०२४ मा अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । कर्तव्यपालनाका क्रममा पत्रकार र सञ्चारकर्मीको ज्यान गएको (युनेस्को)ले बताएको छ ।
सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरनाक रहेको संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले बताएको छ । युनेस्कोले यो वर्ष द्वन्द्व र युद्ध क्षेत्रमा ४२ जना पत्रकार मारिएका छन,जसमा सबैभन्दा धेरै प्यालेस्टाइनमा १८ जना पत्रकार र सञ्चारकर्मी मारिएका प्रतिवेदनमा उल्लेख गरिएको छ । ६० प्रतिशतभन्दा धेरै हत्या द्वन्द्वग्रस्त देशहरूमा भएका र यो सङ्ख्या पछिल्लो दशकमा सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ ।
युनेस्कोकी महानिर्देशक अड्री अजौलेले विश्वलाई जानकारी दिन तथा द्वन्द्व, युद्ध र सङ्कटबाट प्रभावित जनसङ्ख्यालाई मद्दत गर्न भरपर्दाे सूचना आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय कानूनबमोजिम सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्नका लागि कदम चाल्न सबै देशहरूसँग उनले आग्रह समेत गरेका छन् ।