काठमाडौँ । मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटा मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन् ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग जोडिएको एउटा मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेशिनरी सामान खरिदको उजुरीको अनुसन्धानका क्रममा मुचुल्का र आरोपीको बयान लिएको छ । उक्त बिषयमा सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेको र अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए ।
सापकोटालेको झोलाभित्र रहेको खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रुपैयाँ रकम रहेको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घुस दिने उद्देश्यले ल्याएको रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले बताएका छन । आयोगको कञ्चनपुर कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका हुन् ।