काठमाडौँ । बाराको सु प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गरेर फकिर्ने क्रममा रौतहटमा भएको स्कार्पियो दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको पहिचान खुलेको छ । उक्त स्कार्पियो पूर्वपश्चिम राजमार्ग अन्तरगतको चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको थियो । स्कार्पियो दुर्घटनामा चालक सहित ८ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
स्कार्पियोमा सवार रहेका सबै प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गरेर फर्किएका दर्शनार्थी सवार रहेका थिए । दुर्घटनामा ज्यान जानेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिएका छन । यस्तै दुर्घटनामा घाइते हुनेहरूमा ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा, २५ वर्षीय देव कुमारी महरा, ७ वर्षीय ऋतिक महरा र ६० वर्षीय कन्या देवी महरा रहेका छन् ।
दुर्घटनामा परी पाँच जना घाइते भएका छन । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पु¥याइएको छ । घाइतेहरूको सामान्य उपचारपछि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो । अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको बताइएको छ । स्कर्पियो दुर्घटनामा चालक निदाएका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । स्कार्पियो जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ । गढीमाई मेलामा मङ्सिर शुक्ल पक्षको पञ्चमीदेखि अष्टमीसम्म गढीमाई भगवतीको मन्दिरमा पाँच बर्से मेलाको विशेष पूजाआजा गरिन्छ । पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइन्छ । गढीमाईमा आफूले भाकल गरेका कुरा पुरा भइसकेपछि बलि दिने चलन रहिआएको छ ।