Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिल्म ‘महाजात्रा’ले गर्‍यो बौद्ध विधिअनुसार पूजा/यस्तो छ कारण

फिल्म ‘महाजात्रा’ले गर्‍यो बौद्ध विधिअनुसार पूजा/यस्तो छ कारण

काठमाडौँ । अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यलाभको कामना गर्दै फिल्म ‘महाजात्रा’को टिमले बौद्धस्थित सेचेन गुम्बामा पूजा गरेको छ । शुक्रबार र शनिबार बौद्ध तान्त्रिक विधिअनुसार ‘चामत्कारिक’ स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको छ ।

फिल्म छायांकन बुधबारदेखि सुरु गर्ने तयारी छ । फिल्मको एक महत्वपूर्ण रोल ‘ससुरा बा’को भूमिकामा घिमिरेले अभिनय गर्ने तयारी छ । तर निर्माताले छायांकन सकिने बेलासम्म उनले स्वास्थ्य लाभ गर्ने भन्दै नयाँ कलाकार ल्याएको छैन । शुक्रबार पोखराको नदीपुरमा घाँस काट्न जाने क्रममा लडेर घिमिरे घाइते भएका थिए । मणिपाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा केही सुधार आइरहेको छ ।

‘छायांकन सकिने बेलासम्म उहाँको स्वास्थ्यमा चामत्कारिक सुधार हुने हाम्रो आशा छ,’ उनले भने, ‘आशा छ, दाइ फर्किनुहुन्छ ।’ निर्माताले घिमिरेबाटै छायांकनको थालनी गर्ने तयारी गरेको थियो तर दुर्घटनाको कारण तत्काल त्यो सम्भव नभएपछि छायांकनको अन्त्यतिरलाई तय गरिएको छ ।

निर्माताले बुधबार स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन गर्ने तयारीमा छन् । तिहारअघि पहिलो र तिहारपछि दोस्रो चरणको छायांकन गर्ने तयारी छ । प्रदीप भट्टराईले निर्देशन गर्ने यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका हुनेछ । षट्कोण आर्ट्सको ब्यानरमा बन्न लागेको फिल्म अघिल्ला प्रिक्वेलहरु जात्रा र जात्रैजात्राको तेस्रो श्रृंखला हो । तेस्रो श्रृंखलामा हरिवंश आचार्य, दिव्यदेव, गौमाया गुरुङ, शिशिर बाङ्देल जोडिएका छन् ।