Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वरिष्ठ कलाकार प्रकाश घिमिरे घाइते, दोहोरो कुराकानी गर्न नसक्ने अवस्थामा

वरिष्ठ कलाकार प्रकाश घिमिरे घाइते, दोहोरो कुराकानी गर्न नसक्ने अवस्थामा

काठमाडौँ । यी हुन् वरिष्ठ कलाकार प्रकाश घिमिरे । लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ। तर यहि अन्तरालमा उनि लडेर घाइते भएका छन् । प्रकाश घिमिरे पोखरेली सेरोफेरोमा उनलाई नचिन्ने सायद कमै होलान । पेशाले शिक्षक, उमेरले ६० को नेटो काटदै छ । ३७ वर्ष जति कन्या माध्यामिक विद्यालय नदिपुर पोखरामा सेवा गरि शिक्षण पेशाबाट २०७५ मंसिरमा अवकाश लिए । हाल उनी अभिनय क्षेत्रमा व्यस्त छन् ।

लगभग ३७ वटा नाटकमा जीवन्त अभिनय गरिसकेका उनले थुप्रै नेपालि चलचित्रहरुमा वुवाको भूमिकामा अभिनय गरेका छन् । उनले २०६१÷६२ सालतिर निर्देशक नबिन सुब्बाद्वारा निर्देशित नेपाल टेलिभिजनमा प्रसारित नेपाली धारावाहीक टेलिसिरियल ‘दलन’मा अभिनय पनि गरे । यो उनको चलचित्र क्षेत्रमा पहिलो डेब्यू थियो । विस्तारै उनी अभिनय यात्रा सिने क्षेत्रमा छलाङ्ग मार्दै गयो । उनीद्वारा अभिनित नेपाली चलचित्रहरु ‘टलक जंग भर्सेस टुल्के, छ माया छपक्कै, साईंली, फनको, जात्रा, जात्रै जात्रा, पशुपति प्रसाद, पञ्चे बाजा, घाम पानी र पानीफोटो’ आदि छन् । उनको ‘टलक जंग भर्सेज टुल्केमा’ गाउँको मुखिया र सामन्तिको भूमिका दमदार छ । त्यस्तै ‘पशुपति प्रसाद’ पनि हेर्न लायकको छ ।

तर यतिबेला भने उनै कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका थिए । उनको हाल पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको बुझिएको छ । भीरबाट लडेर गम्भीर घाइते बनेका अभिनेता प्रकाश घिमिरे बोल्न थालेका छन् । आइसियुमा उपचाररत घिमिरे शनिबार बिहानबाट बोल्न थालेको उनका साथी प्रेम पुनले जानकारी दिएका छन् । कलाकार घिमिरेको टाउको र शरीरमा चोट लागेको छ । प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए। घिमिरे गम्भीर दुर्घटनामा परेको कुरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनको उपचारमा विशेषज्ञ चिकित्सक खटिएको मेयर आचार्यले जनाएका छन् ।

अस्पतालका अनुसार प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ। ढाडमा पनि चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएकोमा चिकित्सकले तत्काल लैजान नपर्ने बताएपछि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकहरूले उनको अवस्था शुक्रबार भन्दा सुधारिएको बताए । घिमिरेले घरमा गाई पाल्दै आएका छन्। उनको दैनिकी गोठबाटै सुरु हुन्छ। शुक्रबार बिहान भने घिमिरे मर्निङ वाकमा निस्केका थिए। भलामबाट फर्किएपछि उनी सोझै घर गए। ‘त्यसपछि उनि घाँस काट्न गएका थिए । पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर उनि रुखबाट खसेर गम्भीर घाइते भएको पारीवारिक स्रोतले बताएको छ । कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उनको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन्।

नाटकबाट आरम्भ भएको उनको कलाकारिता टेलिसिरियल दलन हुँदै दर्जनौँ चलचित्र अभिनयसम्म आउँदा निकै उचाइ पाएको छ । मणिपाल शिक्षण अस्पतालमा कलाकार, साहित्यकार, पत्रकार तथा घिमिरेका आफन्तहरुको बाक्लो उपस्थिती रहेको छ । साथै आज शनिबारबाट घिमिरे सुटिङमा जाने कार्यतालिका समेत रहेको थियो ।