Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अस्ट्रेलियामा पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा बनाईदै, दशैमा सप्ताह

अस्ट्रेलियामा पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा बनाईदै, दशैमा सप्ताह

काठमाडौँ । जे गर जसो भन ,जतासुकै लैजाउ मलाई ...यो मन त मेरो नेपालि हो  यो गित त हामीले सुनेकै छौ । हुनपनि हामि नेपालीहरुको मन यहि गीतले व्याख्य गरे अनुरुप नै छ । यसको प्रमाण हो अहिले अस्ट्रेलियामा बन्न लागेको पशुपतिनाथको मन्दिर । हुनपनि हामि नेपालिहरु जहा,जुनरास्ट्रमा गएपनि धर्म संकृति परम्परा /धार्मिक आस्था त नेपालकै हुन्छ । यसैकारण अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि यस वर्षको दसैँ विशेष हुने भएको छ । विशेष किनभने यस पटक नवरात्रीको ९ दिनसम्म यहाँ नवाह यज्ञ गरिँदै छ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट गरिनेछ ।

भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल रहनेछन् । उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो । नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरिने संयोजक आनन्द पौडेलले जानकारी दिएका छन् । कलश यात्रा सकिएपछि नवाहको कथा वाचन सुरु गरिनेछ ।

संयोजक पौडेलका अनुसार यसपछि हरेक दिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तशती चण्डी पाठ र शुभ कार्यका कामहरू बिहानैबाट हुनेछ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि साँझ ८ः३० बजेसम्म, शनिबार र आइतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने जानकारी पनि उनले दिए । पौडेलले सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहने भक्तजनहरूका लागि आवासको व्यवस्था गरिएको पनि बताए। संयोजक पौडेलका अनुसार सप्ताह ज्ञान महायज्ञको आठौँ दिनमा औपचारिक कार्यक्रम गरिने कार्यतालिका बनेको छ। अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री, अस्ट्रेलियामा रहेका विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थितिमा नवनिर्मित संरचनाहरूको उद्घाटन गरिनेछ। सप्ताह ज्ञान महायज्ञको प्रत्येक दिन भन्डारा लगाइने जानकारी दिँदै उनले भने, 'भन्डारा लगाउन ७ दिनका लागि दाताहरूको सहयोग प्राप्त भएको छ। बाँकी दुई दिनको भन्डाराका लागि दाताहरूलाई आग्रह गरेका छौँ।'

'गाउँ गाउँबाट उठौँ, बस्ती बस्तीबाट उठौँ, मेलबर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भई जुटौँ' मूल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरूबाट भजन कीर्तन, झाँकी समावेश हुनेछ । यहाँ पुग्ने भक्तजनसँगै आउने बालबालिकाहरूको लागि खेल्ने सामग्री पनि राखिने उनले जानकारी दिए। महायज्ञबाट सङ्कलित रकम नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ । संयोजक पौडेलले भने, सामुदायिक केन्द्रको जमिन किन्न चार लाख ५० हजार ऋण लिएका थियौँ। सप्ताहबाट उठेको रकमले पहिला नेपाली सामुदायिक केन्द्रलाई ऋणमुक्त गरिनेछ। बाँकी रहेको रकमले मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्रको आगामी योजनामा सहयोग पुग्नेछ ।'

सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता बढाउने तयारी रहेको उनले बताए। १३ सय आजीवन सदस्य सङ्ख्या रहेको एएनएएमसीको सदस्यता यो दसैँपछि कम्तीमा दुई हजार पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए। साथै अस्ट्रेलियस्थित ब्रिजबेनमा पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माण अभियान सुरु भएको छ । अस्ट्रेलियाको कुइन्सल्याण्डमा बसोबास गर्ने नेपालीले उक्त अभियान सुरु गरेका हुन् । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर क्यूएनससीसीको पहलमा अभियान सुरु गरी आर्थिक संकलन भइरहेको छ ।

क्यूएनसीसीले सामुदियक केन्द्र बनाउन ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न लागिएको छ । त्यसका लागि बैना भइसकेको बताइएको छ । स्थानीय सहमति अनुसार एक सातभित्र उक्त जग्गा पास गरिसक्नुपर्ने भएकोले क्यूएनसीसीले आर्थिक संकलन अभियान सुरु गरेको हो । गो फन्ड मीमार्फत आर्थिक अभियान चलाइएको छ । पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माणका लागि आवश्यक जग्गा साढे १४ लाख डलरमा किन्न लागिएको छ । क्यूएनसीसीले उक्त क्षेत्रमा साढे १४ लाख डलरमा ४ हेक्टर बढी जग्गा किन्न बैना गरेको भए पनि साढे १२ लाखमात्रै आर्थिक संकलन भएपछि गो फन्ड मी अभियान अघि बढाएको बताइएको छ ।

क्यूएनसिसिले ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर र सहयोगी र विभिन्न सांगितिक कार्यक्रमसमेतबाट गरी साढे १२ लाख संकलन गरिसकेको छ । गो फण्ड मी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ ।