Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक / सिनेमाघर र रेलमा पनि बस्न डराउछन् सर्वसाधारण

पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक / सिनेमाघर र रेलमा पनि बस्न डराउछन् सर्वसाधारण

सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । अनौठो यस अर्थमा, त्यस्तो घोषणा विश्वका अन्य देशहरूबाट विरलै सुन्न पाइन्छ । फ्रान्स सरकारले उडुसविरुद्ध संगठित रूपमा लड्ने घोषणा गरेपछि हो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो सम्पन्न युरोपेली मुलुक चर्चाको विषय बनेको । सामान्यतया, ओछ्यानको कुना–काप्चामा बस्ने उडुसले अहिले फ्रान्समा आतंक नै मच्चाइरहेको छ । सार्वजनिक यातायात, अस्पताल, सिनेमाघर र केही विमानस्थलमा पनि उडुसले उत्पात मच्चाउन थालेको छ । उडुसले उत्पात मच्चाउन थालेपछि फ्रान्स सरकारले यसविरुद्ध लड्ने ठोस प्रयासका लागि सार्वजनिक घोषणा नै गर्नुपरेको हो । मानव शरीरबाट रगत चुस्ने यो परजीवी अहिले पेरिस मेट्रो, उच्च गतिका ट्रेनहरू र पेरिसको चाल्र्स डे गुएल विमानस्थलमा छ्याप्तछ्याप्ती देखिन्छन् । यात्री तथा पर्यटकहरूले सामाजिक सञ्जालमा हालेको यसको भिडियो सामाजिक सञ्जालभरी छन् । “फ्रान्सले सन् २०२४ को ओलम्पिक र पारालम्पिक आयोजनाको तयारीलाई तीव्र बनाइरहँदा राज्यले यस (उडुस) विरुद्ध तत्कालै योजना कार्यान्वयन गर्न आवश्यक छ,” फ्रान्सको राजधानीका उपमेयर इमानुयल ग्रेगोइरले प्रधानमन्त्री इलिजाबेथ बोर्नेलाई लेखेको पत्रमा उल्लेख छ ।

फ्रान्समा उडुसको समस्या कहिलेदेखि सुरु भयो ?

गएको गर्मीदेखि फ्रान्समा मानिसहरूले सिनेमाघरमा उडुस देखिएको भन्दै अनलाइनमार्फत गुनासो पोख्न थालेका थिए । उनीहरूले त्यसबेलादेखि नै सामाजिक सञ्जालमा उडुसका फोटोहरू सार्वजनिक गरेका थिए । हाल, स्थानीय र पर्यटकहरूले घर, होटेल, मेट्रो रेल, उच्च गतिका ट्रेन र विमानस्थलमा पनि उडुस देखिएको भिडियो सार्वजनिक गरिरहेका छन् । फ्रान्समा उडुस यति धेरै मात्रामा देखिएको यो पहिलोपटक भने होइन । सन् १९५० को दशकमा फ्रान्सबाट उडुस उन्मुलन भइसकेको मानिन्थ्यो । तर, पछिल्ला वर्षयता पुनः देखिन थालेको छ । फ्रान्सको खाद्य, वातावरण र व्यवसायिक स्वास्थ्य सुरक्षामा काम गर्ने एजेन्सी एन्सेसले सन् २०१७ देखि २०२२ सम्म १० हजारभन्दा धेरै घरहरूमा उडुस भेटिएको तथ्यांक सार्वजनिक गरेको छ ।

विज्ञहरूका अनुसार सन् २०१८ मा चार लाखभन्दा धेरै ठेगानाहरूमा उडुसविरुद्धको कार्य गरिएको बताएका छन् । सन् २०२० मा फ्रान्स सरकारले उडुसविरुद्ध लड्नका लागि एक अभियानको सुरुआत गरेको थियो । जसमा उडुसविरुद्ध लड्न हटलाइन र वेवसाइट समेत खोलिएको थियो । अहिले फ्रान्सको राजधानी पेरिसले यसविरुद्ध लड्न सुरुआती चरणका कामहरू गरिरहेको छ । पेरिस सिटी हलले गत बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई एक समर्पित टास्क फोर्स बनाएर संक्रमणलाई नियन्त्रणमा मद्दत गर्न आग्रह गरेको छ । यातायातमन्त्री क्लेमेन्ट बेउनेले शुक्रबार यसविरुद्ध लड्ने प्रणालीबारे छलफल गर्न अर्को हप्ता यातायात सञ्चालकहरूसँग छलफल गर्ने बताएका थिए । उपमयेर ग्रेगाइरले कम आय भएका मानिसहरूले कीट नियन्त्रण फर्मलाई मूल्य तिर्न नसक्ने हुँदा बिमाकर्ताहरूलाई घरको बिमा नीतिमा उडुसलाई पनि समावेश गर्न आग्रह गरेका छन् । ग्रेगाइरले पेरिसमा यसअघि पनि उडुस रहेकाले बिमा नीतिलाई निरन्तरता दिने बताएकी छन् । उनले आगामी वर्षको जुलाई अन्तिममा पेरिस ओलम्पिक सुरु हुने हुँदा त्यसअघि उडुस आतंकलाई हटाउन सबै मिलेर कार्य गर्न आग्रह गरेकी छन् ।

कसरी बढ्यो त उडुसको प्रकोप

विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप पुनः देखा पर्न थालेको हो। तर त्यो समस्या फ्रान्समा मात्र सीमित नभई अन्यत्र पनि छ। उडुस फैलिनुमा विभिन्न कारक तत्त्वहरू छन्। तीमध्ये विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग गरी हुने व्यापर , पर्यटन र आप्रवासनजस्ता गतिविधि प्रमुख छन्।

उडुस मानिस भएका ठाउँमा बस्न रुचाउँछ। मानिस जहाँ जान्छ यो कीरा पनि त्यहीँ जान्छ। मौसमले यसलाई खासै ठूलो प्रभाव पार्दैन। दोस्रो विश्वयुद्धपछि डीडीटी नामक विषादीको व्यापक प्रयोग भएको हुनाले उडुसको सङ्ख्या ह्वात्तै घटेको थियो। तर पछि मानिसमा पार्ने दुष्प्रभावका कारण डीडीटी र अरू रासायनिक कीटनाशक विषादीको प्रयोगमा रोक लगाइयो। रासायनिक विषादीको प्रयोगका कारण केही कीराहरू मासिएपछि उडुसको सङ्ख्यामा ठूलो परिवर्तन आयो। अहिले देखिने धेरै कीराहरूको प्रतिरोध क्षमता डीडीटीको प्रभाव खेप्ने आफ्ना पूर्वजको भन्दा बढी छ।

सरसफाइका कारण साङ्लाको सङ्ख्या घटेकाले पनि उडुसको सङ्ख्या बढेको हुन सक्छ। साङ्लाले उडुसको सिकार गर्छ। विकसित देशहरूमा मानिसहरू उडुस भन्नेबित्तिकै तर्सिन सक्छन्। "किनभने हामीले उडुसबारे धेरै कुरा बिर्सिसकेका छौँ। विश्वका अरू भागमा उडुसलाई अहिले पनि सामान्य मानिन्छ । उडुस हानिकारक हुन्छ। तर त्यसबाट हुने खतरा भौतिकभन्दा बढी मनोवैज्ञानिक हुन्छ। उडुसले दुःख दिन सक्छ तर यसले रोग फैलाउँदैन। उडुसले टोकेको हामीलाई मन पर्दैन तर त्यस्तो दुखाइ लामो समय रहँदैन।