Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिकेटर करणको ‘फुटेको ब्याट’ भाइरल/ भ्रामक प्रचार भएको क्रिकेट संघको भनाई

क्रिकेटर करणको ‘फुटेको ब्याट’ भाइरल/ भ्रामक प्रचार भएको क्रिकेट संघको भनाई

गत महिना एसिया कपमा नेपालले भारतसँग खेलेलगत्तै चर्चामा आए ललितनारायण राजवंशी । तर, खेलका कारण होइन, पुरानो अन्तर्वार्ताको एउटा क्लिपका कारण । भारतविरुद्धको प्रदर्शनबाट नेपालले वाहवाही बटुलिरहँदा ललितले आफूसँग गतिलो ब्याट नभएको भनेर केही समयअघि नै दिएको अन्तर्वार्ताको क्लिप भाइरल भएको थियो । त्यस अन्तर्वार्तामा उनले साथीहरुको ब्याट मागेर खेल्ने गरेको बताएका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत भारतीय व्यवसायी अनुपम मित्तलले ललितलाई प्रायोजन गर्न आफू तयार रहेको र उनलाई सम्पर्कमा ल्याइदिन अनुरोध गरेका थिए । थुप्रै नेपालीहरुले पनि उनलाई सहयोग गर्ने तत्परता देखाए । यद्यपि, ललितले आफूसँग अहिले ब्याट रहेकोले सहयोग नचाहिएको बताएका थिए ।

ललितको प्रसंग यत्तिकै सेलायो । तर, अहिले ब्याटकै कारण चर्चामा आएका छन् अर्का राष्ट्रिय क्रिकेटर करण केसी । एसियाड क्रिकेटअन्तर्गत गत मंगलबार भारतसँग नेपालले खेलेपछि उनको एउटा तस्वीर भाइरल भइरहेको छ । तस्वीरमा करणले बोकेको ब्याट फुटेको वा चर्केको जस्तो देखिन्छ । नेपालीहरुमात्र होइन, धेरै भारतीयहरुले पनि नेपाली ब्याट्सम्यानसँग एउटा गतिलो ब्याट नभएको भन्दै दया वर्षाइरहेका छन् ।

के अवस्था त्यस्तै दयनीय हो त ? के करणले फुटेकै ब्याटले खेलेका थिए ? के हो त् सत्यता ?

जानकारहरु भने सामाजिक सञ्जालले यस्ता विषयहरुलाई गलत र अतिरञ्जित प्रचार गरिरहेको बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपालका अधिकांश राष्ट्रिय क्रिकेटरसँग स्पोन्सर रहेको प्रस्ट पारे । एउटा ब्याटकै अभाव हुने परिस्थिति कम्तीमा राष्ट्रिय खेलाडीमा नरहेको उनको भनाइ छ । उनले वास्तविकता नबुझी भ्रामक रुपमा समाचारहरु नफैलाउन आग्रह गरे । पारस भन्छन्, ‘सामान्यतया बलरसँग एउटा प्राक्टिस ब्याट हुन्छ । उनीहरु ब्याटिङमा जाँदा ब्याट्सम्यानकै ब्याट लिएर खेल्न जाने गर्छन् । यो अनौठो विषय पनि होइन । अहिले अधिकांश नेपाली ब्याट्सम्यानसँग ब्याटको स्पोन्सर छ ।

करणको सन्दर्भमा उनीसँग आफ्नो कुरा हुन नपाएको पारसले बताए । उनी भन्छन्, ‘मेरो कुरा त भएको छैन । तर, मलाई लाग्छ यो ब्याट चर्केको विषयमा स्वयम् करणले थाहा नपाएर हुनुपर्छ । यस्तो जोकसैलाई हुनसक्छ ।’

पारसको अनुभवमा सामान्यतया अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा एउटा ब्याट्सम्यानसँग ४-५ वटा ब्याट हुने गर्छ । अहिले नेपाली ब्याट्सम्यानलाई ब्याटको समस्या नरहेको उनले बताए । ‘नेपाल क्रिकेट संघसँग कन्ट्रयाक्टेड प्लेयर र पछिल्लो ४-५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका खेलाडीहरुलाई ब्याटकै समस्या छ भन्ने चाहिँ मलाई लाग्दैन । यू-१९ क्रिकेटसहित अरु टीममा चाहिँ समस्या हुनसक्छ’, उनले भने ।

४-५ वर्षअघिसम्म क्यानले हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुभन्दा अगाडि ५-६ वटा नयाँ ब्याट किनेर टीमलाई दिने गरेको थियो ।ललितको समाचार आएपछि आफूलाई धेरैले फोन गरेर ब्याट दिने चाहना व्यक्त गरेको उनले सम्झिए ।

‘हामीले गर्नुपर्ने नेपाली क्रिकेटमा धेरै छन् । अब ब्याटकै लागि पनि हामीले संस्थागत रुपमा कुनै कम्पनीसँग एग्रिमेन्ट गरेर कामहरु गर्न सक्छौं । त्यसका लागि क्यानले आगामी दिनमा पहलकदमी लिनेछ’, पारस भन्छन् ।

उनका अनुसार ‘ए’ ग्रेडको ब्याटका लागि ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ । ‘हाम्रा ब्याट्सम्यानहरुले प्रयोग गर्ने ब्याट ‘ए’ ग्रेडकै हुन्छ’, पारसले भने । करणले इनिङको अन्तिम ओभरमा ब्याटिङ गरेका थिए । भारतीय बलर अभेश खानको बलमा छक्का हान्ने प्रयास गर्दा उनी लगातार पाँच बलमा बिट भएका थिए । ब्याट स्वीङ गर्दा बलमा नलागेपछि हरेक पटक उनी आफ्नो ब्याट नियालिरहेकासमेत देखिन्थे ।

अन्तिम बलमा भने उनले छक्का निकाल्न सफल भए । खेल्ने क्रममा भूईंमा ठोक्किएर ब्याट फुटेको हुनसक्ने अनुमान पनि छ । नेपाल आएपछि करणले नै यो विषयमा बताउलान्  र कुरा प्रस्ट होला ।