काठमाडौँ : न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् ।
यी देशहरूमा मृत्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ । न्युजिल्याण्डमा यस कानुन अन्तरगत मृत्यु रोज्नका लागि कुनै पनि व्यक्ति गम्भीर रोग (टर्मिनल इलनेस) अर्थात् आगामी ६ महिनामा मानिसको मृत्यु हुनसक्ने अवस्थामा रहेको हुन जरुरी छ । यस प्रक्रियाका लागि कम्तीमा दुई डाक्टरको सहमति आवश्यक गरिएको छ ।
हालै इच्छा मृत्युको मुद्दामा गरिएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी भोट यसको पक्षमा परेको थियो । न्युजिल्याण्डमा लामो समयदेखि यस मुद्दामा बहस जारी रहेको थियो ।
के हो ‘इच्छा मृत्यु’ ?
कुनै बिरामीलाई निको नहुने रोग वा मरणासन्न अवस्थामा पुगेमा उसको अनुमतिमा उपचार बन्द गर्ने गरिन्छ । युथेनेसिया (इच्छा मृत्यु) यस्तो अवस्था हो, जहाँ कुनै मरणासन्न व्यक्ति मृत्युतर्फ बढेपछि औषधि दिन बन्द गरिन्छ। त्यसकारण उसको मृत्यु हुने गर्दछ।
कस्तो अवस्थामा इच्छामृत्यु ?
अति दुःख पाएर, कष्ट खपेर, अधकल्चो मरेर, अलिकति मात्र बाँचेर, धेरै मरेर जो थला परेका हुन्छन्, उनीहरूले मर्न पाउनुपर्छ । यो उनीहरूको मौलिक अधिकार हो भन्ने मेरो बुझाइ हो । बाँच्न पाउने मौलिक अधिकार जस्तै मर्न पाउने पनि अधिकार हो । तर, कुन अवस्थामा ?
साह्रै असक्त, दिसा-पिसाबमा डुबेको बेला, औषधि-उपचारको संभावना टरिसकेको बेला उसले यदि जीवन भन्दा मृत्यु रोज्छ भने त्यसलाई हामीले सदर गरिदिनुपर्छ । यसैलाई ‘इच्छामृत्यु’ भनिएको हो ।
आत्महत्या र इच्छामृत्युको भेद
तर, इच्छामृत्यु भनेको आत्महत्या होइन । आत्महत्या एक मानसिक आवेगको परिणाम हो भने इच्छामृत्यु शारीरिक बाध्यता ।
मेरो अहिले सिंगो जीवन छैन । म राम्ररी हिंड्न, दौड्न सक्दिनँ । तर, म मर्न जरूरी छैन । किनभने मसँग चेतना छ । उत्साह र ऊर्जा छ । म अहिले पनि लेख्छु । समाजको विवेचना गर्छु । मेरो लागि अहिले इच्छामृत्युको आवश्यक नै छैन ।
तर, कोही व्यक्ति असाध्यै असक्त छ, बाँच्न चाहँदैन भने उसले आफ्नो इच्छा जाहेर गर्न सक्छ । आफूलाई मृत्यु नै सहज हो भन्न सक्छ । आनन्दसँग मर्न पाए हुन्थ्यो भन्न सक्छ । यस्तो अवस्थामा परिवारले कानूनी प्रक्रिया पूरा गरेर, चिकित्सा विधिको प्रयोगबाट सहज रूपमा उसलाई मृत्युवरण गराउन सक्छन् । इच्छामृत्यु यस्तो हो ।