Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अफगानिस्तानबाट ३२ जना नेपालीको उद्धार ,भोली काठमाडौं आइपुग्ने !!

अफगानिस्तानबाट ३२ जना नेपालीको उद्धार ,भोली काठमाडौं आइपुग्ने !!

काठमाडौँ : लामो प्रतीक्षापछि अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीको उद्धार भएको छ। रोजगारीका लागि पुगेका, तर बेरोजगार अवस्थामा रहेका ३४ जनामध्ये दुईजना कात्तिक ४ गते फर्केका थिए भने काजगात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्दै छन्। उनीहरूले काबुल छाडेका छन्।

नयाँदिल्लीस्थित नेपाली कार्यबाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपाली आज काबुलबाट इरानको महान एयरलाइन्सबाट तेहरानतर्फ प्रस्थान गरेका छन्। उनीहरू तेहरानबाट साँझ अबेर दुबई पुग्नेछन्। त्यहाँबाट तीनजना फ्लाई दुबईको उडानबाट र बाँकी २९ जना नेपाल एयरलाइन्सको नियमित उडानबाट भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्ने कार्यबाहक राजदूत सुवेदीले जानकारी दिए।

कात्तिक ३ गते उद्धार हुने भनिए पनि ३४ जनामध्ये ३२ जना काबुल विमानस्थलबाट फर्केका थिए। उद्धार भएर आउने ३२ जना नेपालीको हवाई भाडा, काबुलमा बढी समय बसेको शुल्क, पिसिआर परीक्षणको शुल्कसहित नेपाल सरकारले व्यहोर्ने भएको छ। सुवेदीका अनुसार उनीहरूको उद्धारमा लाग्ने सबै खर्च नेपाल सरकारले तीन सातामा भुक्तान गर्ने निर्णय गरेको छ। करिब १३ सय अमेरिकी डलर हवाई भाडा, प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पिसिआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्नेछ।

उद्धार गर्नुपर्ने नेपालीमध्ये कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएकाहरू छन् भने कोही १८ महिनादेखि बेरोजगार भएका नेपालीहरू छन्। उनीहरूलाई सुरुमा सुरक्षा प्रदायक कम्पनीका बिचौलियाहरूले काबुलका विभिन्न होटेलमा खानपिन र बसोवासको बन्दोबस्तसहित राखेका थिए। तर, उनीहरूले जागिर पाएका थिएनन्।

तालिबानले शासन लिएसँगै काबुलबाट विदेशी नागरिकको उद्धार हुने क्रममा उनीहरू विमानस्थल पुगे पनि उद्धार हुन सकेको थिएन। त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्वारा हुँदै उनीहरू काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिनजोन) मा बसेका थिए। उनीहरूलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको थियो।

सुरुमा १७ जना भारतीय, ८५ जना बिदामा आउनुपर्ने सुरक्षाकर्मी तथा उद्धार गर्नुपर्ने ३४ जना नेपाली पूर्वसुरक्षाकर्मीलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो। आउनुपर्ने सूचीमा १७ जना नेपाली मूलका भारतीय सुरक्षाकर्मी पनि भएकोले दिल्लीमार्फत उडानका लागि आइडिजीले प्रयास गरेको थियो। भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरेको थियो। तर, काबुलबाट ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान भरेका छैनन्। काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीहरूलाई काठमाडौं उडान भर्ने तय गरेको थियो। तर, त्यो प्रयास नभएपछि विभिन्न विकल्पमा छलफल भएको थियो।