काठमाडौँ : पाकिस्तानको लाहोरनजिकै प्रतिबन्धित पार्टीको र्यालीमा हिंसात्मक झडप हुँदा चार प्रहरीको मृत्यु भएको छ। उक्त झडपमा परी सयौं मानिस घाइते भएका छन्।
पाकिस्तानको दक्षिणपन्थी प्रतिबन्धित पार्टी तेहरीक–ई–लब्बिक पाकिस्तान (टीएलपी)का समर्थकले बुधबार ईश्वरको निन्दाविरुद्ध प्रदर्शन गरेका थिए।
उनीहरु लाहोरबाट इस्लामाबादतर्फ अघि बढेका थिए। प्रहरीले उनीहरुलाई रोक्न खोज्दा उक्त झडप भएको हो।
टीएलपीका समर्थकले गत अप्रिलमा पक्राउ परेका नेता साद राज्वीको पक्राउको विरोध गर्दै उनको रिहाइको माग गर्दै आएका छन्। साथै उनीहरुले फ्रान्सेली राजदूतलाई देशनिकालाको माग गरेका छन्। फ्रान्सको म्यागाजिनले हजरत मोहम्मदको कार्टुन बनाएको विषयलाई लिएर उनीहरुले यस्तो माग राखेका हुन्।
पाकिस्तान प्रहरीका महानिरीक्षक राओ सरदार अलि खानले हिंसात्मक झडपको क्रममा चार प्रहरी मारिएको बताएका छन्। साथै उक्त झडपमा २६३ जना घाइते भएका छन्। प्रहरीका अनुसार झडपको क्रममा दुई सयभन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन्।
पाकिस्तानका गृहमन्त्रीले टीएलपीका समर्थकलाई हिंसात्मक आन्दोलनबाट पछि हट्न आग्रह गरेका छन्।