काठमाडौँ । मिटरब्याज पीडित पक्ष र सरकारबीच लामो समयदेखि जारी वार्ता आज लिखित सम्झौतामा टुंगिने तयारी भएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक छलफल भइरहेको छ।
यसअघि सिमरामा भएको मौखिक सहमतिलाई औपचारिक रूपमा लिखित सम्झौतामा रूपान्तरण गर्ने तयारी गरिएको हो। हिजो पनि दुवै पक्षबीच सिंहदरबारमा सघन छलफल भएको थियो, जसको आधारमा आज अन्तिम सहमति गर्ने प्रक्रिया अघि बढाइएको छ।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहनुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।