काठमाडौं । मिटरब्याज पीडितसँग जारी संवादलाई अघि बढाउन सरकारले वार्ता टोली गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।
यसअघि मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले पनि सरकारसँगको वार्तालाई व्यवस्थित बनाउन आफ्नै वार्ता टोली गठन गरेको थियो। आन्दोलनको वार्ता टोलीको नेतृत्व केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले गरेका छन्।
मिटरब्याज पीडितहरू असार २५ गते जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा निस्किएपछि सरकार र आन्दोलनकारीबीच वार्ता हुँदै आएको छ। बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा हालसम्म चार चरणको छलफल भए पनि सहमति जुट्न सकेको छैन।
आन्दोलनकारीले अघि सारेका ६ बुँदे मागलाई लिखित सहमति गरी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने अडान राखेका छन्। लिखित सहमति नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।