काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्दै उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि पहल गर्ने बताए।
छलफलमा महासंघका प्रतिनिधिहरूले महिला उद्यमीलाई व्यवसायमैत्री वातावरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच, व्यापार मेला, प्रदर्शनी, बिजनेस म्याचिङ र निर्यात प्रवर्द्धनका लागि विशेष कार्यक्रम आवश्यक रहेको बताएका थिए।
महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सहयोग गर्नुपर्ने मागप्रति प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
महिला उद्यमीहरूले सहुलियतपूर्ण कर्जा, सार्वजनिक खरिद प्रक्रियामा सहभागिता, वित्तीय पहुँच विस्तार तथा नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
महासंघका प्रतिनिधिहरूले आफ्ना समस्या सुनेर पहल थालेकोमा प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गर्दै महिला उद्यमशीलता विस्तारमा निरन्तर सहकार्यको अपेक्षा राखेका छन्।