काठमाडौं । मिटरब्याज र ठगीविरुद्ध आन्दोलनरत किसान–मजदुर तथा पीडित पक्ष र गृहमन्त्री सुधन गुरुङबीच आज तेस्रो चरणको वार्ता हुँदैछ।
बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे हुने वार्तालाई दुवै पक्षले महत्वपूर्ण रूपमा लिएका छन्। यसअघि मंगलबार र बुधबार भएका दुई चरणका छलफल निष्कर्षविहीन भएपछि आजको वार्ताबाट सहमतिको प्रयास गरिँदैछ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलनको नेतृत्वमा पीडितहरूले असार २५ गते धनुषाको जनकपुरबाट काठमाडौं केन्द्रित न्याय यात्रासहित पैदल मार्च सुरु गरेका थिए। पीडितका माग सम्बोधन गर्न गृहमन्त्री गुरुङ निजगढ पुगेर वार्तामा सहभागी भएका हुन्।
आन्दोलनकारीले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष कानुन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायत छ बुँदे माग अघि सारेका छन्।
सरकारी पक्षले कानुनी प्रक्रियामार्फत समस्या समाधानको पहल भइरहेको जनाएको छ भने आन्दोलनकारीले ठोस प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन्। आजको वार्ताले लामो समयदेखि जारी मिटरब्याज पीडितको आन्दोलनको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।