काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्न निर्देशन दिएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण नआए नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही हुन सक्ने मन्त्रालयले जनाएको छ।
कारबाही प्रक्रियामा परेका कर्मचारी कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका छन्।