Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता, व्यापार तथा लगानी सहकार्यबारे छलफल

मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता, व्यापार तथा लगानी सहकार्यबारे छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यका विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै नेपाली वस्तुको अमेरिकी बजारमा सहुलियतपूर्ण पहुँच पुनः सुनिश्चित गर्न सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले व्यापार तथा लगानी ढाँचा सम्झौता (TIFA) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउनुपर्नेमा जोड दिँदै जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रमा अमेरिकी लगानी बढाउन आग्रह गर्नुभयो।

अमेरिका नेपालको प्रमुख निर्यात गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रविधि हस्तान्तरण र निजी क्षेत्रको सहकार्यबाट व्यापार सन्तुलन सुधार गर्न सकिने बताउनुभयो।

अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालले उठाएका व्यापार, लगानी र सहकार्यका विषयमा सकारात्मक प्रतिक्रिया दिँदै आगामी दिनमा निरन्तर साझेदारी र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।