Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्यार्थी कुटपिट प्रकरणमा मन्त्रालयको सक्रियता, दोषी शिक्षिका निष्कासित

विद्यार्थी कुटपिट प्रकरणमा मन्त्रालयको सक्रियता, दोषी शिक्षिका निष्कासित

काठमाडौँ । बौद्धस्थित खावालिङ स्कुलमा विद्यार्थी कुटपिटको भिडियो सार्वजनिक भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले घटनाबारे चासो देखाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक र प्रधानाध्यापकसँग छलफल गर्दै आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले सहजीकरण गर्ने बताइन्।

मन्त्रीले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाको जानकारी लिँदै अध्ययन र खेलकुदमा निरन्तर लाग्न प्रोत्साहन गरेकी छन्। साथै, घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श र भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकको क्षमता अभिवृद्धि गर्न विद्यालयलाई निर्देशन दिइएको छ।

मन्त्रालयका अनुसार घटना एक वर्षअघि भएको भए पनि पुनः यस्ता घटना नदोहोरिउन् भन्ने उद्देश्यले छलफल गरिएको हो। २०८२ साल पुसमा कक्षा ४ का १३ वर्षीय विद्यार्थीमाथि शिक्षिका सोना रानाले कुटपिट गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको हो।

विद्यालयले शिक्षिका रानाले सार्वजनिक रूपमा माफी मागेको र आवश्यक छानबिनपछि गत जेठमै उनलाई निष्कासन गरिएको जनाएको छ। प्रधानाध्यापक सुनिल रानाका अनुसार भिडियो विद्यालयकै एक शिक्षकले खिचेका थिए र निष्कासनप्रतिको असन्तुष्टिका कारण अहिले सार्वजनिक गरिएको दाबी गरिएको छ।