Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

DGO ले सन् २०२६ को टप एन्ड टी–२० सिरिज नेपालमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्ने

DGO ले सन् २०२६ को टप एन्ड टी–२० सिरिज नेपालमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्ने

काठमाडौँ, २०२६ नेपालको अग्रणी OTT प्लेटफर्म DGO ले अस्ट्रेलियामा आयोजना हुने २०२६ स्टडी एनटी टप एन्ड टी–२० सिरिज नेपालमा आधिकारिक रूपमा प्रसारण गर्ने भएको छ। अस्ट्रेलियाको डार्विनमा आगामी अगस्ट २० देखि अगस्ट ३० सम्म आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू नेपालभरका दर्शकले DGO मार्फत प्रत्यक्ष र निःशुल्क हेर्न सक्नेछन्। हरेक वर्ष डार्विनमा आयोजना हुँदै आएको टप एन्ड टी–२० सिरिज अस्ट्रेलियाको महत्वपूर्ण टी–२० प्रतियोगितामध्ये एक मानिन्छ।

प्रतियोगितामा अस्ट्रेलियाका घरेलु तथा बिग बास लिगसँग सम्बन्धित टोलीहरूसँगै पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्ड जस्ता टेस्ट खेल्ने राष्ट्रहरूसँग सम्बन्धित टोलीहरूको समेत सहभागिता रहने भएकाले यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पनि चासोका साथ हेरिँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत संस्करणमा पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो। डार्विनमा नेपालले खेलेका खेलहरूमा त्यहाँ रहेका नेपाली समर्थकहरूको उल्लेखनीय उपस्थिति र समर्थन देखिएको थियो। नेपालका खेलहरूलाई लिएर देशभित्र र विदेशमा रहेका नेपाली क्रिकेट समर्थकहरूबीच पनि ठूलो उत्साह देखिएको थियो। सन् २०२६ को संस्करणमा नेपाली टोली पुनः डार्विन फर्किने भएकाले यो प्रतियोगिता नेपाली क्रिकेट समर्थकहरूका लागि अझ विशेष हुने अपेक्षा गरिएको छ। DGO ले यसपटक नेपालमा आधिकारिक प्रसारण अधिकार प्राप्त गरेसँगै देशभरका दर्शकले राष्ट्रिय टोलीको यात्रा आफ्नै मोबाइल, स्मार्ट टिभी वा कनेक्टेड डिभाइसबाट सहज रूपमा निःशुल्क हेर्न पाउनेछन्।

DGO का खेलकुद प्रमुख विपुल भट्टराईले नेपाली क्रिकेट समर्थकहरूको उत्साहलाई ध्यानमा राख्दै प्रतियोगिता निःशुल्क उपलब्ध गराउन लागिएको बताउनुभयो। “नेपालका क्रिकेट समर्थकहरू संसारकै सबैभन्दा उत्साही र भावनात्मक समर्थकमध्ये पर्नुहुन्छ। हाम्रो राष्ट्रिय टोली जहाँ खेलोस्, उनीहरूलाई साथ दिन लाखौँ नेपाली दर्शक तयार हुनुहुन्छ। गत संस्करणमा पनि नेपालप्रतिको समर्थन डार्विनदेखि नेपालसम्म स्पष्ट रूपमा देखिएको थियो। यही भावनालाई सम्मान गर्दै DGO ले २०२६ टप एन्ड टी–२० सिरिज नेपालमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाएको छ। हामी यस प्रतियोगिताको हरेक क्षण, हरेक खेल र नेपालका हरेक प्रदर्शनको खुसी क्रिकेट समर्थकहरूका घर–घर र हात–हातसम्म पुर्याउन पाउँदा अत्यन्त उत्साहित छौँ,” भट्टराईले भन्नुभयो। DGO ले यसअघि पनि नेपालमा प्रमुख खेलकुद सामग्रीहरू दर्शकमाझ पुर्याउँदै आएको छ।

नेपाल प्रिमियर लिग, फिफा विश्वकप २०२६ लगायतका प्रत्यक्ष खेलकुद सामग्रीमार्फत दर्शकहरूमा छुट्टै पहिचान बनाएको DGO ले टप एन्ड टी–२० सिरिजमार्फत आफ्नो खेलकुद प्रसारणलाई थप विस्तार गर्ने जनाएको छ। दर्शकहरूले आफ्नो मोबाइल, स्मार्ट टिभी वा अन्य कनेक्टेड डिभाइसमा DGO एप डाउनलोड गरी, वा DGO को वेबसाइटमार्फत प्रतियोगिताका प्रत्यक्ष खेलहरू निःशुल्क हेर्न सक्नेछन्। DGO ले प्रतियोगिताको विस्तृत खेल तालिका सार्वजनिक भएपछि नेपाली समयअनुसार सम्पूर्ण फिक्स्चर, खेलसम्बन्धी जानकारी तथा अन्य डिजिटल सामग्रीहरू आफ्ना आधिकारिक प्लेटफर्महरूबाट सार्वजनिक गर्ने जनाएको छ।