Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंका अव्यवस्थित तार हटाउन सरकार सक्रिय, समयसीमासहित अभियान सञ्चालन हुने

काठमाडौंका अव्यवस्थित तार हटाउन सरकार सक्रिय, समयसीमासहित अभियान सञ्चालन हुने

काठमाडौँ । काठमाडौं उपत्यकामा वर्षौंदेखि अव्यवस्थित रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार र इन्टरनेटका तार निश्चित समयसीमाभित्र व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा बसेको उच्चस्तरीय बैठकले संयुक्त कार्ययोजनाअनुसार अभियान अघि बढाउने निर्णय गरेको हो।

बैठकमा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था (आईस्पान) का प्रतिनिधि सहभागी थिए। अव्यवस्थित तार हटाउन कार्यक्षेत्र विभाजन, समयसीमा निर्धारण र समन्वयलाई प्रभावकारी बनाइने निर्णय गरिएको छ।

ऊर्जामन्त्री श्रेष्ठले समस्या समाधानका लागि सबै निकायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आवश्यक परे सेवा प्रदायकसँग भएका सम्झौतासमेत पुनरावलोकन गरिने बताए। उनले पाइलट परियोजनाबाट काम सुरु गरी कानुनी सुधार र इन्टरनेट सेवा प्रदायकको बक्यौता असुलीलाई पनि व्यवस्थित ढंगले अघि बढाइने जानकारी दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले प्रयोगविहीन केबल तत्काल हटाउन, एकीकृत कार्ययोजना बनाएर समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे।

हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार व्यवस्थापनको काम भइरहेको छ भने अन्य प्राथमिकता प्राप्त क्षेत्रमा पनि अभियान विस्तार गरिने जनाइएको छ। सरकारले यस अभियानलाई सहरी सौन्दर्य, नागरिक सुरक्षा र दूरसञ्चार पूर्वाधार व्यवस्थापनसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा अघि बढाउने जनाएको छ।