काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको भन्दै होटल व्यवसायीहरूको चिन्ता अब समाधान हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले होटल व्यवसायीलाई कानुन पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावना खोज्न आग्रह गरे।
छलफलमा हानका पदाधिकारीहरूले नेपालका होटलहरू वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै पर्यटक आगमन बढाउन आवश्यक नीतिगत सुधार गर्न सरकारसँग माग गरे। उनीहरूले आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र क्रस–बोर्डर पर्यटनमा नेपालको ठूलो सम्भावना रहेको बताए।
होटल व्यवसायीहरूले होटल उद्योगलाई विद्युत् महसुलमा सहुलियत, साना होटलका लागि वातावरणीय मूल्याङ्कन प्रक्रिया सहज बनाउन, पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालन गर्न तथा नेपाल एयरलाइन्सको सेवा सुधार गर्न माग गरेका छन्।
उनीहरूले वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पर्यटन पूर्वाधार र होटलसम्बन्धी कानुनमा आवश्यक संशोधन गरी पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।